
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्दा कसैलाई जिम्मेवारी हस्तान्तरण गरेर चुपचाप बस्नुपर्नेमा उनी थप सक्रिय भएका छन् ।
मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेपनि उनी पार्टीको अध्यक्ष पदमा यथावत् छन्। पार्टीको नेतृत्वबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट निर्णय भएको छैन।
उनले २०६४ सालको संविधानसभा निर्वाचनमा दुवै क्षेत्रबाट पराजित भएपछि नेकपा एमालेका तत्कालीन महासचिवको हैसियतले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए।
नेपालमाथि पतञ्जलि योगपीठलाई लाभ दिने उद्देश्यले सरकारी हदबन्दीको जग्गा अवैधानिक रूपमा निजी हाउजिङ कम्पनीलाई बेच्न अनुमति दिएको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा चलाएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मंगलबार सचिवालय बैठक बोलाएर आवश्यक छलफल हुने जानकारी दिए। उनका अनुसार कानुन व्यवसायीसँग सल्लाह गरेर मात्रै निर्णय हुने बताइएको छ।
यो प्रकरणले माधव नेपालको विगतको नैतिक दाबीलाई प्रश्नचिह्न लगाएको छ। एक समय चुनावमा हार्दा पनि पद छाड्ने निर्णय लिएका नेपालले अहिले भ्रष्टाचार जस्तो गम्भीर आरोप लाग्दा पनि पद नछाड्नुले उनी स्वयंले बनाएको नैतिक मापदण्डमाथि प्रश्न उठाएको छ।
नेकपा (एस) भित्र अध्यक्ष नेपालपछि दोस्रो बरियतामा झलनाथ खनाल, तेस्रोमा वरिष्ठ नेता बेदुराम भुसाल रहेका छन् भने पदाधिकारीमा पाण्डे वरिष्ठ उपाध्यक्ष छन्। तर, नेपालले जिम्मेवारी हस्तान्तरण गर्ने विषयमा पनि हालसम्म कुनै संकेत गरेका छैनन्। सचिवालय बैठकपछि मात्रै यसबारे थप स्पष्टता आउने देखिन्छ।
नेपालले २०७८ भदौ २ गते एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गरेका थिए। नयाँ पार्टीमार्फत वैकल्पिक वाम शक्तिका रूपमा उदाउने दाबी गर्दै आएका नेपाल अहिले भने भ्रष्टाचार मुद्दामै फँस्दा पनि पुरानै शैलीमा पद च्यापिरहँदा उनीमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको छ।