काठमाडौं, जेठ २७ :

सदनदेखि सडकसम्म अहिले भिजिट भिसा प्रकरणले चर्चा पाएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित विपक्षी दलहरुले सदन अवरोध गरिरहेका छन् ।

पछिल्लो समय विपक्षी दलहरु गृहमन्त्रीको राजीनामाको मागबाट पछाडि हटिसकेका छन् । उनीहरुले बरु भिजिट भिसा प्रकरणमा थप अनुसन्धनका लागि उच्चस्तरीय समिति बनाउनुपर्नेमा जोड दिएका छन् । जेठ १५ गते सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गरेसँगै अवरुद्ध भएको प्रतिनिधिसभा बैठक सम्भवत: भोलि (बुधबार) देखि नियमित हुने सम्भावना भने देखिएको छ ।

नैतिकतामा अब्बल, कानुनका ज्ञाता राजनीतिज्ञका रुपमा परिचित नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा करिब-करिब निर्दोष रहेको अवस्थामा विपक्षीहरुले केही समय सदन अवरोध गर्नुलाई चौतर्फी विरोध हुनु स्वभाविकै हो । अहिले गृहमन्त्री लेखकको पालामा मात्रै भिजिट भिसामार्फत नेपाली तथा भारतीयहरु तेस्रो मुलुक गएको भन्ने भ्रमपूर्ण र तथ्यहीन समाचार प्रकाशन/प्रसारण भएको पाउन सकिन्छ । यद्यपि विगतका गृहमन्त्रीहरुकै पालादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत भारतीय नागरिक तेस्रो मुलुक जाने गरेको अध्यागमन स्रोतले दाबी गरेको छ ।

अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुईपटक गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुल ८ हजार २ सय ७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएको खुलेको छ ।

लामिछाने पहिलोपटक ४ महिना गृहमन्त्री हुँदा ७ हजार ४० जना र दोस्रोपटक गृहमन्त्री हुँदा १२ सय ३९ भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्यांकले देखाएको छ । रविको पहिलो कार्यकालमा दैनिक औसतमा ५८ जना र दोस्रो कार्यकालमा औसत ३८ भिजिट भिसामा नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश उडेका छन् । स्रोतका अनुसार रविको पालामा सबैभन्दा बढी भारतीयहरु नो अब्जेक्सन लेटर (एनओसी) विनै तेस्रो मुलुक गएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका नेता तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ १ वर्ष ३ दिन गृहमन्त्री भएका बेला १४ हजार ७४ जना भारतीयले तेस्रो मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेको देखिन्छ । श्रेष्ठको पालामा दैनिक औसत ३८ जना भारतीय विदेशिएका थिए ।

त्योभन्दा पहिले ३ वर्ष ४ महिना १६ दिन गृहमन्त्री भएका नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) को पालामा १५ हजार ३२ भारतीय नागरिक अध्यागमनमार्फत तेस्रो मुलुक गएको तथ्यांकले देखाएको छ । थापाको पालामा दैनिक औसतमा १२ जना भिजिट भिसामा विदेश उडेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा सबैभन्दा बढी भारतीय नागरिक भिजिट भिसामा तेस्रो मुलुक गएको देखिएको छ । खाण १ वर्ष ५ महिना १३ दिन गृहमन्त्री रहँदा २४ हजार ६ सय २१ जना र औसत ४७ जना भारतीय भिजिट भिसामा तेस्रो मुलुकका लागि बाहिरिएका थिए ।

त्यति मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समय गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला पनि ८२ भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक गएको देखिएको छ ।

भिजिट भिसामा तेस्रो मुलुक जाने भारतीयमध्ये अधिकांश कतार, कुवेत, दुबई, हङकङ, मलेसिया, चीन, थाइल्यान्ड र श्रीलंकालगायत जाने गरेको पाइएको छ । भारतीय दूतावास र अध्यागमन विभाग स्रोतका अनुसार कुनै पनि भारतीयले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न जाँदा भारतीय दूतावासबाट जारी नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने भन्ने कुनै अनुरोध नगरिएको समेत पाइएको छ ।

स्रोतका अनुसार यसरी नेपाली रुट (विमानस्थल) हुँदै तेस्रो मुलुक जाने गरेको भारतीय नागरिक लामो समयदेखि आवातजावत गर्ने गरेका छन् ।

‘तथ्यांकमा देखिएका भारतीयहरु यहाँबाट तेस्रो मुलुक मात्र जान्छन् भन्ने होइन,’ अध्यागमन विभागको उच्च स्रोतले भन्यो, ‘अधिकांश भारतीय यहीँबाट आवतजावत गर्ने गरेको तथ्यांकबाट पुष्टि हुन्छ ।’

पछिल्ला केही दिनयता गृहमन्त्री लेखककै पालामा मात्रै भिजिट भिसा प्रकरण भएको भन्दै विपक्षी दलहरु उनलाई दोषी करार गरी राजनीतिक प्रतिशोध साँध्ने प्रयास गरेका थिए । तर तथ्य र प्रमाणले विगत लामो समयदेखि नै भिजिट भिसामा जाने चलन गरेको तथ्यांक सार्वजनिक भएपछि उनीहरुको प्रतिशोधको योजना तुहिएको छ ।

अहिले २०६४ सालयताकै भिजिट भिसाको प्रकरणबारे अनुसन्धान गर्नुपर्ने बहस उठेपछि विपक्षीहरु तैं चुप मै चुपको अवस्थामा पुगेका छन् । लेखकले २०८१ असार ३१ मा गृहमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनको पालामा कर्मचारीहरुको सेटिङमा दुई लाख ३८ हजार १८२ जना नेपाली भिजिट भिसामा देशबाहिर गएका छन् । जसमध्ये एक लाख तीन हजार ७६९ महिला र एक लाख ३४ हजार ४१३ जना पुरुष विदेश भ्रमणमा गएका छन् ।

यसको प्रमुख योजनाकारका रुपमा सहसचिव तीर्थराज भट्टराई देखिएका छन् । उनीमाथि अनुसन्धान चलिरहेको छ । कर्मचारीहरुमाथि अनुसन्धान भइरहँदा स्वच्छ छविका गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा दोष लगाउनुलाई अन्याय मान्न सकिन्छ ।

विकसित घटनाक्रम हेर्दा भिजिट भिसा र भारतीय नागरिकले त्रिभुवन विमानस्थल हुँदै तेस्रो मुलुक आउजाउ गर्न थालेको दशकौंदेखिको निरन्तरता हो । नियोजित रुपमा अहिलेको वर्तमान सरकार र गृहमन्त्रीलाई बदनाम गराउने नियतले प्रचारबाजी गरिएको देखिन्छ ।

अहिले गृहमन्त्री लेखकमाथि बढी नै प्रहार भएको देख्न सकिन्छ । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्नु त राम्रो हो तर निर्दोषलाई दोषी भनेर हौवा चलाइनु राम्रो मानिँदैन ।