म्याग्दी, जेठ २८ :

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताउनुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञान प्रकाश नमूना माध्यमिक विद्यालयले आज  आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताउनुभएको हो ।

“यो व्यवस्थाका कमी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ”,उहाँले भन्नुभयो । साथै उहाँले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको बताउनुभयो ।

कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्ना तर्फबाट हर सम्भव प्रयास हुने अध्यक्ष दाहालले बताउनुभयो ।