
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाटै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन् । नेपाल-भारत रणनीतिक संवादसम्बन्धी आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल-भारतबीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको प्रसंग उल्लेख गरिन् । उनले भनिन्, ‘म एउटा यस्तो भविष्यको प्रतीक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ । यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।’
नेपाल-भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै परराष्ट्रमन्त्री राणाले हाम्रा नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभिटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने धारणा राखिन् ।
नेपाल र भारतले सडक, रेलवे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधारलगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनको जोड थियो । ‘हाम्रा दुई देशबीचको निर्वाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलाहरूमा मात्र सहयोग गर्दैनन्, पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरोन्नति गर्न सक्नेछन्,’ उनले भनिन्, ‘यसबाट दुवै देशका नागरिक लाभान्वित हुन सक्नेछन् ।’
राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।
पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताउँदै उनले नेपालको विशाल जलविद्युत् सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोत प्रदान गर्ने र यो आउने पुस्ताका लागि उपयोगी हुने दाबी पनि गरिन् ।
आगामी दशकमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने भारतको प्रतिबद्धताले नेपाल-भारत ऊर्जा सहयोगको प्रतितिधित्व गरेको बताउँदै नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत् आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्नेसहित विद्युत् क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएका प्रसंग पनि उनले उल्लेख गरिन् ।
परराष्ट्रमन्त्री राणाले भारतमा ठुलो मात्रामा डिजिटल सीप र नवप्रवर्तन रहेका र नेपालमा बढ्दो युवा र प्रविधिप्रेमी जनसंख्या रहेको प्रसंग उल्लेख गरिन् । उनले भनिन्, ‘हामीले पारस्परिक सहकार्यमा टेक हबहरू, स्टार्ट-अपहरू र डिजिटल नवप्रवर्तन प्लेटफर्महरूलाई प्रवर्धन गर्नुपर्छ र हाम्रा युवालाई सँगै काम गर्न, प्रविधिको प्रयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्न दिनुपर्छ ।’
आज विश्व द्रूत प्राविधिक परिवर्तन, परिवर्तनशील भूराजनीतिक गतिशीलतामा रहेको तथा विश्वव्यापी जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू बढ्दै गएको अवस्थामा दुई देशबीच साझा चुनौतीसँग जुध्न संयुक्त सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपालमा हालै सम्पन्न सगरमाथा संवादको पहिलो संस्करणमा भारत सरकारको सहयोग र समर्थनका लागि आभार जनाइन् ।
नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको बताउँदै राणाले यस प्रकारका प्लेटफर्महरुले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाई विचारको आदानप्रदानलाई प्रवर्धन गर्ने र जनता-जनताबीचको सम्पर्कलाई थप मजबुद बनाउन सहयोग पुर्याउने धारणा राखिन् ।