काठमाडौं, जेठ २९ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एसियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज (बिहीबार) भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत् क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालका जलविद्युत् आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।

उनले अपर अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको कार्यलाई चाँडो टुंगोमा पुर्‍याउनसमेत विश्व बैँकसँग आग्रह गरेका थिए । भेटमा विद्युत्‌को आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

भेटमा विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले अपर अरुण जलविद्युत् आयोजनालाई विश्व बैँकले प्राथमिकतामा राखेको बताए । भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागिता थियो ।