
प्रधानमन्त्री केपी ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज (शुक्रबार) उद्घाटन गर्दै ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित रुपमा न्याय सम्पादन हुन सक्नेगरी अनुसन्धान र अभियोजन गर्न आग्रह गरे ।
‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मनवोचित र न्यायपूर्ण समाज सिर्जना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधानसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध रहेको छ,’ उनले भने,‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा-सुविधामा आवश्यक ध्यान दिनेछ ।’
अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले तत्काल अपराधीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ-नयाँ प्रविधिसहित स्रोत-साधन सम्पन्न हुनुपर्ने र प्रहरीको त्रुटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षहरुमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिने काममा लाग्न सबैलाई आग्रह पनि गरे ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित दुईदिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्नेछ ।