काठमाडाैं, जेठ ३१ :

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी ऐन असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले शिक्षा क्षेत्र सुधारका लागि आफ्नो प्रयास तीव्र रहेको जनाउँदै, असार १५ सम्म ऐन पास गर्ने लक्ष्य रहेको बताए।

उनले भने, ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ।’

त्यस अवसरमा उनले शिक्षकहरूसँग भएको नौबुँदे सम्झौता आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने जानकारी गराए। सम्झौताका कारण सरकारले वार्षिक आठ अर्ब रुपैयाँ थप बोझ व्यहोर्नुपर्ने उनले स्पष्ट पारे।

“नौबुँदे सम्झौता लागू हुन्छ, त्यसको दायित्व आठ अर्ब रुपैयाँ थप नेपाल सरकारले बेहोर्छ,” उनले भने।

तर, अब थप आर्थिक भार पर्ने माग धान्न नसकिने भन्दै उनले नयाँ मागहरूबारे सतर्कता अपनाउनुपर्ने उल्लेख गरे। "बजेट आइसक्यो, अब थप भार धान्न सकिँदैन," मन्त्री पन्तको भनाइ थियो।

उनले यसअघि भएका सम्झौताहरूका सन्दर्भमा छलफल गर्न आफू सधैँ तयार रहेको पनि बताए।
--