मोरङ, जेठ ३१ :

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा खोलामा विद्युत प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

शनिबार बिहान ९:४० बजेको आसपासमा मदेली खोलाको पुलमुनि माछा मार्ने क्रममा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दम्पतीले विद्युत पोलबाट हुक प्रयोग गरी खोलामा करेन्ट प्रवाह गरेका थिए। सो क्रममा अचानक करेन्ट लागेर दुबै जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय बेलबारीबाट करिब ११ किलोमिटर पश्चिममा पर्छ। प्रहरी इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।