
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको करोडौं रुपैयाँ अपचलन सम्बन्धी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
सरकारी वकिल कार्यालय, पर्साले आइतबार लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गरेको हो। मुद्दामा त्यस सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।
झन्डै एक महिनाअघि प्रहरी अनुसन्धान सकिएर प्रतिवेदन बुझाएपछि अध्ययन गरी सो निर्णय गरिएको हो। प्रहरीले सो प्रकरणमा अनुसन्धान पूरा गरी करिब एक महिना अगाडि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सोही आधारमा अध्ययनपछि सरकारी वकिल कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा मुद्दा चलाएको हो।
यो प्रकरणमा सहकारी सञ्चालक समितिका पदाधिकारीहरू, विभिन्न व्यक्तिहरू र सहकारीको रकम संलग्न कारोबारमा जोडिएका व्यक्ति अभियुक्त बनाइएका छन्। सरकारी वकिल कार्यालयका अनुसार, अभियोगपत्रमा अभियुक्तहरूलाई सहकारीको ठगी, रकम अपचलन र आर्थिक अनियमितताको आरोपमा कारबाही माग गरिएको छ।