
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बुढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
अन्जनाको टाउकामा चोट देखिएको उनले बताए । ठकुरीको घरमा भाडामा बस्ने ५४ वर्षीय परमनारायण फोटोग्राफर हुन् । करिब डेढ वर्षदेखि उनी उक्त घरमा भाडामा बस्दै आएका थिए । अन्जनालाई परमनारायणले आफैंले जागिर दिएर राखेका थिए ।
मृत भेटिएका दुवैजना विवाहित हुन् ।अन्जनासँग विवाहत्तेर सम्बन्ध रहेको र त्यसमा दरार आएपछि हत्यादेखि आत्महत्यासम्मको स्थितिमा पुगेको अनुमान गरिएको छ ।अहिलेसम्मको अनुसन्धानले अन्जनाको हत्यापछि भारतीय नागरिक परमनारायणले आत्महत्या गरेको आशंका प्रहरीको छ ।
घरको दोस्रो तलाको कोठाको सोफामा अन्जनाको शव भेटिएको थियो । अन्जना मृत भेटिएको सोफा नजिकै भुईंमा परमनारायणको शव भेटिएको थियो । परमनारायणले त्यस घरमा ४ वटा कुकुर पालेका थिए । जसमध्ये एउटा कुकुर त्यही कोठामा मृत भेटिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।