काठमाडौं, असार २ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने घोषणा गरेको छ ।

प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर हिजो असार १ गते बसेको प्रतिनिधिसभाको बैठक भत्ता नलिने जानकारी दिएका हुन् । शाहीले उक्त दिनको भत्ता राजस्वमा फिर्ता गरिदिन संसद् सचिवालयलाई अनुरोधसमेत गरेका छन् ।

राप्रपाले असार १ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ । हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अवरोध भएको समयमा पनि जबर्जस्त बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक वापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन हुन अनुरोध छ,’ शाहीले संसद् सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ ।

राप्रपाले बैठक बहिष्कार गरेको दिनको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहरसमेत गरेको छ । राप्रपाले हिजो (आइतबार) कै शैलीमा बैठक सञ्चालन गरिए आगामी बैठकहरु पनि बहिष्कार गर्ने चेतावनी दिएको छ ।