काठमाडौं, असार २ :

उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

 न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले आज (सोमबार) आदेश जारी गर्दै तत्काल पक्राउ नगर्न भनिएको हो। विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पनि उच्च अदालतले अनुसन्धानका लागि उनलाई तत्काल नपक्रन आदेश दिएको हो।

प्रहरी पक्राउको तयारीमा रहेको जानकारी पाएपछि पाठककी पत्नी शिखा प्रसाईंले अदालतमा निषेधाज्ञा माग्दै रिट दायर गरेकी थिइन्। पाठक पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोषबाबु सिग्देललगायतले बहस गरेका थिए। 

उनीहरूले राज्य प्रेस र आलोचकप्रति अनुदार बन्दै गएको र साइबर कानुनको गलत प्रयोग भइरहेको जिकिर गर्दै पत्रकारमाथिको धरपकड रोक्न माग गरेका थिए। इजलासले सरकारी पक्षलाई पनि छलफलका लागि बोलाएको छ। यही असार ५ गते हुने बहसले थप निर्क्योल गर्ने छ ।