
नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकको नाममा उपस्थितिका लागि सूचना जारी गरेको छ । ब्युरोले आज (मंगलबार) उपस्थितिका लागि पाठकका नाममा सूचना जारी गरेको हो ।
पीडित ‘साइबर ब्यूरो ५९’ को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै पाठकलाई उपस्थित हुन सूचनामा भनिएको छ ।
जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत पाटनमा निवेदन परेको थियो । उच्चका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले सोमबार दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले भनेको थियो ।
उच्च अदालतले पक्राउ पुर्जी किन खारेज नगर्ने भनी सरकारसँग १५ दिनभित्र लिखित जवाफ मागेको छ । जवाफ नआउँदासम्म पाठकलाई कानुनी प्रक्रियाबाहेक पक्राउ नगरिनुपर्ने आदेशमा उल्लेख छ ।
ब्युरोको वेबसाइटमा मंगलबार सूचना जारी गर्दै उनलाई ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।
हिल्टन होटेलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तर्गतको कसुरमा पाठकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो ।
समाचारको विषयलाई लिएर विद्युतीय अपराधको कसुरमा पक्राउ अनुमति लिएपछि यसको व्यापक विरोध भएको थियो । शनिबार विभिन्न सञ्चारमाध्यमका ३५ सम्पादकले सामूहिक विज्ञप्ति निकालेर ‘कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजिएको’ बताएका थिए ।