उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सुनुवाइपछि यसअघि दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।
अदालतले पाठकलाई अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिएको छैन भन्दै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलाई संविधानले संरक्षण गर्ने उल्लेख गरेको छ । साथै, पत्रकारितासम्बन्धी गुनासोहरू प्रेस काउन्सिलमार्फत समाधान गर्न सकिने भएकाले विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान आवश्यक नरहेको ठहर गरिएको छ ।
पाठक इन्टरफेस नेपाल नेटवर्कमार्फत सञ्चार क्षेत्रमा संलग्न रहेको र सञ्चार विभागमा दर्ता भई पत्रकार परिचयपत्र लिएको प्रमाण अदालतमा पेस भएको आदेशमा उल्लेख गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।