
बीपी राजमार्गमा भोलि शनिवार राति १२:३० देखि बिहान ५ बजेसम्म १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ ।
काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।
मनसुन जन्य विपदबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार वर्षामा बाढी पहिरोको जोखिम भएकोले यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलान्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।
गत साल असोजको बाढी पहिरोले बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको चौकी डाँडाबाट सिन्धुलीको बर्खे खोलासम्मको आठ किलोमिटर सडक खण्डमा भने सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधान आवतजावत गर्छन् ।
बाढी पहिरोले राजमार्गको कुल एक सय ६० किमी मध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपाल थोकसम्म ३४ किमी र चौथो खण्ड नेपाल थोकबाट काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० कि मी गरी ८४ कि मी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ ।