काठमाडौं, असार ८ :

प्रतिनिधिसभाको बैठकमा आइतबार पनि रास्वपाको नाराबाजीबीच सदन सञ्चालन भइरहेको छ ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले (रास्वपा र राप्रपा) जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

३० जेठमा दुईबुँदे सहमति गरेर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी संसद्को कारबाहीमा सरिक भएका छन् । तर रास्वपा र राप्रपा निरन्तर विरोधमा छन् । आज २६औं दिनमा पनि विरोध जारी छन् ।

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि रास्वपाका सांसद असिम शाहले एक महिनादेखि संसद्‌मा नाटक मञ्चन भइरहेको बताए ।

मानव तस्करीजस्तो विषयमा सरकार गम्भीर नभएको उनले आरोप लगाए । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग छ ।

विगतका एकजना सांसद संसद्‌मा उभिए पनि विरोध हुने र कुनै पनि मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा आउनुपर्ने भनेर गृहमन्त्री रमेश लेखकले भन्ने गरेको उनले स्मरण गरे । तर आफैँमाथि गम्भीर प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।

राप्रपाका सांसद धवलशमशेर राणाले सरकार किन भिजिट भिसा प्रकरणमा छानबिनका लागि तयार भएन भनेर प्रश्न गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरे पनि सभामुख देवराज घिमिरेले बैठक पेलेरै अघि बढाएका छन् ।

उनले विनियोजन विधेयकअन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाएका हुन् ।

हेर्नुहोस् प्रतिनिधिसभाको लाइभ :