काठमाडौं, असार ९ :

सिरियाको दमास्कसस्थित एक चर्चमा  भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ भने  ६३ जना घाइते भएको  छ ।

त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार आइतबार साँझको सेवाका बेला ड्वेइला क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्च अफ प्राफेट एलियासमा एक व्यक्तिले हतियारसहित प्रवेश गरी गोली चलाएपछि विस्फोट गराएका थिए।

आक्रमणकारी इस्लामिक स्टेट आईएस जिहादी समूहसँग आवद्ध भएको बुझिएपनि आईएस समूहले आक्रमणको जिम्मा तत्काल लिएको छैन् । चर्च भित्रबाट लिइएका तस्वीर र भिडियोहरूमा गहिरो क्षति पुगेको, फुटेको सिसाले ढाकिएका बेन्चहरू र भित्ताहरूमा रगतका छिटाहरू देखिएको छ।

यो आक्रमण इस्लामी चरमपन्थी विद्रोहीहरूद्वारा बशार अल-असदलाई डिसेम्बरमा सत्ताबाट हटाइएपछि दमास्कसमा भएको पहिलो यस्तै प्रकृतिको आक्रमण हो। उक्त घटनाले १३ वर्ष लामो गृहयुद्धको अन्त्य भएको थियो।

प्रारम्भिक विवरण अनुसार विस्फोट चर्चको प्रवेशद्वारमा गराईएको थियो । प्याट्रियार्केटले सिरियाली अन्तरिम प्रशासनसँग चर्चहरूको पवित्रतामाथि भइरहेको यस्तो हमला रोक्न र सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न पूर्ण जिम्मेवारी लिन अपिल गरेको छ ।