
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले युवाहरु भ्रमित भए परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै उनले युवाले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए ।
‘अहिले युवा संघको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिंगो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्,’ ओलीले भने, ‘यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध संगठनका रुपमा उभ्याओस् । वैचारिक हिसाबले स्पष्ट र सांगठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारु रुपमा आन्दोलन गर्न सक्ने योजना होस् । विपक्षीहरुले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस् । सही बाटोका पछि लागोस् । व्यक्तिका पछि होइन ।’
उनले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान पनि गरे ।
‘युवाहरु सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवाहरुलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन् । युवाहरुलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ,’ उनले भने, ‘उही नेता कहिले-कहिले आवश्यकताले दोहोरिन्छ । कहिले एकपटकमै उसको परीक्षणबाट असफल हुन्छ । हामीले पार्टीमा ठीक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो । जनताको बहुदलीय जनवाद (जबज) पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौँ । जब सही नेतृत्व पायौँ, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौँ ।’
आफूहरुलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरु लागे पनि आफूहरु मजबुद हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजन गराइएकाले फेरि पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढेको त्यो सामर्थ्य (रिजिलेन्स) एमालेसँग भएको उनले स्पष्ट गरे ।
‘अहिले अर्थविनाको युवा-युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । दक्षता, सीप र अनुभव आदि कुराहरु चाहिन्छ,’ अध्यक्ष ओलीले भने, ‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुने छैनन् । क्षमतावान् विनयी र शालिन हुनेछन् । गुन्डा हुने छैनन्, बलवान् हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति... भनेर चाहिँ बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’
युवा संघ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै ओलीले युवा संघ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायकको संज्ञा दिए ।