काठमाडौं, असार १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित डा. मुकुल ढकालले आफू अझै महामन्त्री रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार ढकालले बुधबार रिट दायर गरेका हुन् । उनको रिटमाथि बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको छ ।

ढकालले रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, सभापति रवि लामिछाने, हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाएका छन् ।

निर्वाचन आयोगले यसअघि ढकालकै नाममा महामन्त्री अद्यावधिक रहेको पत्र दिएको थियो । आयोगका अनुसार अन्तिम अद्यावधिक विवरण २०८० चैत २० मा प्राप्त भएको हो ।

रास्वपाले ढकाललाई २०८१ भदौमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । यो विवरण भने आयोगमा अद्यावधिक गरिएको थिएन ।

रास्वपाको असार ७ गतेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ता तोकेको थियो ।