
नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने भन्दै १३ करोडमा जग्गा किनेको छ ।
हाल कार्यालय रहेको परिसर अगाडिपट्टि १९ आना थप जग्गा र एउटा घर खरिद गर्ने सम्झौता भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ललितपुरका अमिरमान अमात्यको नाममा रहेको जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको थियो ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग एक वर्षभित्र पास गर्नेगरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको पार्टी कार्यालयले जनाएको छ ।
निर्धारित १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेबी एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने पनि कांग्रेसले जनाएको छ ।