
विगत २९ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मूलन र युद्ध निषेध : शान्ति विशेष अभियान सञ्चालन गरिरहेको मानवअधिकार तथा शान्ति समाजले शुक्रबार पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
वर्तमान/भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ ? भन्दै विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने र सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुले युद्धको पक्षपोषण होइन, युद्ध अन्त्य र शान्ति प्रवद्र्धनमा योगदान गर्नुपर्ने आग्रहसहित प्रदर्शन गरेको हो ।
स्मरणीय छ- भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढतासहित ८० वर्ष अघि संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो ।
प्रदर्शनमा २० महिनादेखि गाजामा नरसंहार जारी : तैपनि राष्ट्रसंघमाथि इजरायल भारी, इरानमाथि अमेरिकाको बमबारी, तैपनि राष्ट्रसंघमा अमेरिका भारी, सवा तीन वर्षदेखि युक्रेनमा रूसको बमबारी तैपनि राष्ट्रसंघमा रुस भारी, शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्वसभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, कवि अर्जुन पराजुली, बागमती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणि बञ्जारा, काठमाडौं शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापालगायत शान्तिवादीहरुको सहभागिता थियो ।
प्रदर्शन पश्चात संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीमार्फत हस्तान्तरण गरिएको समाजकी उपनिर्देशक सरिता पौडेलले जनाइन् ।
पत्रमा एकातिर सवा तीन वर्षदेखि रुस-युक्रेन युद्ध जारी छ भने अर्कोतिर २० महिनादेखि गाजामा इजरायली अत्याचार जारी रहेको जसका कारण बालबालिका, महिलाले समेत अकल्पनीय प्रताडना भोग्नुपरेको, युद्धका कारण अपुरणीय क्षति मात्र नभई मानवता निरन्तर पराजित भइरहेको र संयुक्त राष्ट्रसंघ लाचार मुकदर्शक भएको भान पर्न थालेको र यसै वर्ष १३ जुनबाट सुरु भएको इजरायल-इरान युद्धलगायत विश्वका विभिन्न भागमा चलिरहेको युद्धका कारण मानव सभ्यता नै खतरामा पर्न थालेकोले विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।