काठमाडौं, असार १७ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  सर्वसम्मतिबाट संसद्‌मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।

सबैको चासो रहेको निजामती सेवा विधेयक गत आइतबार प्रतिनिधिसभाबाट पारित भएको थियो । तर त्यसमा कुलिङ पिरियडको विषयमा सरकारले जे चाहिरहेको थियो, सोहीअनुसार पास गरेपछि भने सत्तारुढ दलकै नेताहरुले आपत्ति जनाइरहेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले मंगलबार यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गरेका छन् ।

यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाइ, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह गर्दै नेता कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने बताएका छन् ।

‘सर्वसम्मतिबाट संसद्‌मा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान हो,’ सामाजिक सञ्जालमा कोइरालाले लेखेका छन्, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाइ, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।’

उसो राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर पठाएको विधेयक प्रतिनिधिसभाले समेत सर्वसम्मतिले पारित गरेर राष्ट्रिय सभामा पठाइसकेको छ ।

कांग्रेस-एमालेबीच नै कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषयमा विवाद देखिएको थियो । अन्तममा कुलिङ पिरियड राखेरै विधेयक अघि बढाउने सहमति भए पनि अन्तमा त्यसलाई घुमाउरो बाटोबाट कुलिङ पिरियड हटाउने गरी विधेयक पास भएको तथ्य बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

उच्च पदस्थ कर्मचारीहरु अनिवार्य अवकाशमा गएपछि पुनः राजनीतिक नियुक्तिहरु लिने गरेको भन्दै कुलिङ पिरियड राखिएको थियो । २ वर्षको कुलिङ पिरियड राखिएको भन्दै उच्च पदस्थ कर्मचारीहरु नै सरकारलाई दबाब सिर्जना गर्न पुगेका थिए ।