
काठमाडौं, असार १७ :
निजामति सेवा विधेयकमा गरिएको विवादास्पद परिवर्तनबारे संघीय संसद्का सभामुख देवराज घिमिरेसमक्ष सांसदहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरूले संसद्मा प्रस्तुत प्रतिवेदनमा अनधिकृत रुपमा 'कुलिङ पिरियड' मा बाहेक शब्द थपिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
एमाले, माओवादी केन्द्र र कांग्रेसका सांसदहरूले सभापति रामहरि खतिवडा र सचिव सुरज दुराको राजीनामा माग गर्दै संसदीय छानबिन समिति गठन गर्न जोड दिएका छन्।सांसदहरूको आक्रोशपछि सभामुखले दलहरूबीच छलफल थालेका छन्।
कुलिङ पिरियडको व्यवस्थाबारे समितिबाट सर्वसम्मतिबाट पारित भएको विधेयक संसदमा पुग्दा बङ्ग्याइएको सांसदहरूलाई समेत अत्तोपत्तो थिएन । जब यस बारेमा थाहा भए त्यसपछि सांसदहरुले छानबिनको माग राखेका हुन् ।