काठमाडाैं, असार १८ :

टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको आरोपलाई कांग्रेस महामन्त्री गगनकुमार थापाले ‘गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित’ भन्दै कडा प्रतिक्रिया दिएका छन्।

थापाले बस्नेतको भनाइलाई ‘फोहोर’ को संज्ञा दिँदै त्यसलाई चलाएर ‘फोहोरी’ बन्न नचाहेको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु–फोहोर चलाए आफैं फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’

महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै केन्द्रीय समितिको बैठकमा आफू अनुपस्थित रहँदा एक सदस्यबाट आएको धम्कीपूर्ण अभिव्यक्तिको आलोचना पनि गरे। उनका अनुसार, ‘बैठकभित्रै हुँकार मिश्रित भाषामा धम्की दिने प्रवृत्ति नैतिक पतन हो।’

थापा तरुण दलका अनशनरत कार्यकर्ताहरूसँगको वार्तामा व्यस्त रहेका बेला बस्नेतले बैठकमा आरोप लगाएका थिए। 


‘संसद्मा बोलेकै कारण मुद्दा चल्यो’

पूर्व बस्नेतले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउनुमा कांग्रेस महामन्त्री गगनकुमार थापाको भूमिका रहेको आरोप लगाएका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बस्नेतले थापाले संघीय संसद्मा दिएको अभिव्यक्तिका आधारमा नै आफू कानुनी फन्दामा परेको दाबी गरे। उनले भने, ‘गगन थापाले संसद्मा बोलेका कारण मलाई अख्तियारले मुद्दा लगायो।’

बस्नेतले बैठकमा गगनमाथि अशिष्ट र आक्रोशपूर्ण शैलीमा आरोप लगाउँदै आक्रोश प्रकट गरेका थिए। उनले थापाको नाम नलिइकन तर स्पष्ट संकेत गर्दै, राजनीतिक प्रतिशोधका कारण आफूलाई फसाइएको तर्क गरेका हुन्। टेरामक्स प्रकरणमा मुछिएका बस्नेतलाई आइतबार विशेष अदालतमा २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।