ललितपुर, असार १९ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा  सदस्यहरुले विभिन्न विषयमा आफ्ना धारणा राख्नेक्रम आज पनि जारी रहयो । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज २० केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखे ।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आज आफ्नो धारणा राखेका थिए।

विभिन्न विषयमा धारणा राख्नेक्रम जारी रहेकाले कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको १०० दिने अभियानका प्रतिवेदनहरु, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।
    
कांग्रेसको शुभेच्छुक संस्थाका बारेमा, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा, संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिता, समसामयिक विषयलगायत एजेन्डामा छलफल जारी छ ।