
नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीका आधारमा तामाङसहित ६ जनाविरुद्ध अदालतले २०८१ फागुन ५ गते पक्राउ पुर्जी जारी गरेको हो।
पक्राउ पुर्जीविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञा माग गरेका थिए। तर, उच्च अदालतले पनि २०८२ असार ९ गते उनीहरूको निवेदन खारेज गरिदिएको छ।
डम्बर तामाङ धादिङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी बागमती प्रदेश सरकारमा सहकारी मन्त्रीसमेत भइसकेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तामाङ, राप्रपाकै बुद्धिमान तामाङका आफ्नै भाइ हुन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा पर्छन्। बुद्धिमान तामाङ भने घिसिङका सिधा ससुरा हुन्।
घिसिङले दबाब दिएर आफ्ना काका ससुराको कम्पनीलाई सबस्टेसन निर्माणको ठेक्का दिलाएको आरोपसहितको विवादका कारण तामाङविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ।