काठमाडौं, असार २२ :

नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।

महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । प्रदीप बैजाली मगरले यू-२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान १-१ स्वर्ण तथा टिम कुमुतेमा रजत जिते ।

नेपालमा भएको सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।

श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बन्यो । भारतले २३ स्वर्ण, २४ रजत र १२ कास्य जित्यो । तेस्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कास्य हात पार्‍यो । ३ स्वर्ण, ७ रजत र १४ कास्य जितेको बंगलादेश चौथो भयो । ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत र ७ कास्यसाथ पाँचौं र १ रजत र १ कास्यसाथ भुटान छैटौं भए ।