
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र हामी नेपाली नहुने बताएका छन् ।
उनले नेपाल नै हामीभित्र भए मात्रै हामी सबै नेपाली हुने बताए । जन्मदिनका अवसरमा निर्मल निवासमा सोमबार आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन् ।
‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन । नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं,’ उनले भने ।
हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको पनि पूर्वराजा शाहले बताए । उनले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताए ।
‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबानजस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरू पनि हुन्छ,’ उनले भने, ‘त्यसैले सबै दिदीबहिनी दाजुभाइहरुलाई सतर्क रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’
पूर्वराजा शाहको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो ।
उनलाई शुभकामना दिन पुष्पगुच्छा बोकेर राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ-संगठन तथा राजावादी सर्वसाधारण पनि निर्मल निवास पुगेका थिए ।
यो पनि…
पूर्वराजा ज्ञानेन्द्रको ८०औं जन्मोत्सव, निर्मल निवासमा शुभेच्छुकको भिड