
प्रधानमन्त्री केपी ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए ।
ओलीले उक्त सम्मेलनपूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।
सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराए ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए । ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आह्वान गरिएको छ,’ उनले भने, ‘विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक साबित भएको छ । आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।’
सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए । नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरु रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरुसामु प्रभावकारी नेतृत्व गर्न सकेको स्पष्ट गरे ।
सम्मेलनको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गरी सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाका लागि आह्वान गरेको जानकारी गराए । नेपालले नागरिक समाजका लागि लोकतान्त्रिक र उदार व्यवस्था लिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका थिए ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो ।