
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल बंगलादेशको बसुन्धरा किंग्स मैदानमा हुनेछ र नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुने छ।
नेपाल प्रतियोगितामा दोस्रो जितको खोजीमा छ। अहिलेसम्म दुई खेल खेलेको नेपालले एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ को हार सामना गरेको थियो।
दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिन लागेको नेपालका लागि श्रीलंकाविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ। आजको खेल जिते नेपालले सेमिफाइनल सम्भावना बलियो बनाउन सक्छ।
श्रीलंकाको प्रदर्शन भने अहिले सम्म निराशाजनक रहँदै आएको छ। उसले खेलिएका दुवै खेलमा भारी अन्तरले हार बेहोरेको छ। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग ९–१ ले र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो। नेपालले यदि आजको खेलमा उत्कृष्ट प्रदर्शन दोहोर्याउन सक्यो भने प्रतियोगितामा अग्रस्थानमा पुग्ने ढोका खुल्नेछ।