काठमाडौं, असार ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘घुस डिल’प्रकरणमा मुछिएका सबै मन्त्रीको छानबिनको माग गरेका छन्।   संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिँदैमा घुस डिल काण्ड नसकिने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजीनामा दिएका मन्त्री गुप्तालाई तत्काल गिरफ्तार गर्नुपर्ने बताए। ‘राजीनामाले मात्र समस्या समाधान हुँदैन,’ उनले भने, ‘अन्य मन्त्रीहरूको नाम पनि आएको छ, उनीहरू पनि छानबिनको दायरामा पर्नुपर्छ।’

उनको न्याय नपाए गोरखा जानू भन्ने उखानलाई जोडेर भ्रष्टाचार गर्न मन लागे केपी ओलीको क्याबिनेटमा जानू भनि व्यङ्ग्य गरे । साथै उनले अब नेपाललाई सगरमाथाको देशको नामले जसरी भ्रष्टाचारको नामले चिनाउन गिनिजबुकमा नाम लेखाउन सल्लाह दिए ।

यस्तै रास्वपाका सांसद शिव नेपालीले गम्भीर आरोप लागेका मन्त्रीको मात्रै होइन, मुछिएका अन्य मन्त्रीहरूको समेत सत्यतथ्य छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरे।

दुवै दलले भ्रष्टाचारको मुद्दामा राजनीतिक र कानुनी दुवै तहबाट कडा कदम चाल्न सरकारलाई दबाब दिएका छन्।