काठमाडौं, असार ३१ :

स्पेनको सेभिया शहरमा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई सहभागी गराइएको भन्दै प्रहरीले छानबिन सुरु गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गिरोहबारे अनुसन्धान गर्न वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो। समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहितका अधिकारीहरू छन्।

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, संचारमाध्यममा आएका विवरणको अध्ययन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी उक्त समितिलाई दिइएको हो।

असार १४ मा प्रधानमन्त्री केपी शर्मा ओली उडेको विमानमार्फत पनि केही व्यक्तिहरू मड्रिड पुगेका थिए।  कम्तीमा ७ जना नेपाली नागरिक सम्मेलनमा सहभागी नभई स्पेनमै बसेको पुष्टि भएको छ। प्रहरीले अहिले उक्त प्रकरणमा संलग्न दलालहरूको खोजी र कानुनी कारबाहीका लागि अनुसन्धान तीव्र पारेको छ।