ढाका, असार ३१ :

नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७–० को ठुलो जित हासिल गरेको छ। मिनाले ह्याट्रिक गर्दा पूर्णिमा राईले २ गोल तथा समिक्षा मगर र सरिता कुमारी नाथले १/१ गोल गरिन्।

नेपालको यो तीन खेलमध्ये दोस्रो जित हो। अब नेपालसँग ६ अंक भएको छ। खेल ढिलो सुरु भए पनि नेपालले सुरुदेखि नै श्रीलंकालाई दबाबमा राख्यो।

मिनाले खेलको ८ औं मिनेटमा पहिलो गोल गरिन्। समिक्षाले १३ औं मिनेटमा दोस्रो गोल थपिन्। त्यसपछि ४२ औं मिनेटमा मिनाले दोस्रो गोल गरिन्।

पहिलो हाफको इन्ज्युरी समयमा पूर्णिमाले दुई गोल गरिन्। पहिलो हाफमै नेपाल ५–० ले अगाडि रह्यो।

दोस्रो हाफमा मिनाले ७० औं मिनेटमा आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन्। अन्तिम इन्ज्युरी समयको पहिलो मिनेटमा सरिताले फ्रि-किकमार्फत सातौं गोल गरिन्।

यसअघि नेपालले भुटानलाई ६–१ ले हराएको थियो भने बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। नेपाल अब बिहीबार पुनः श्रीलंकासँग खेल्नेछ।श्रीलंकाको प्रदर्शन भने अहिले सम्म निराशाजनक रहँदै आएको छ। उसले खेलका खेलमा भारी अन्तरले हार बेहोरेको छ। 

 चार टोलीको यो प्रतियोगितामा सबै टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन् र सर्वाधिक अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।