
नेकपा एमालेभित्र नेतृत्वको होडबाजी सुरु भएको छ। नेतृत्वप्रति रुचि देखाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता समेत नवीकरण गरेर सक्रियता बढाएसँगै एमालेभित्र तरङ्ग पैदा भएको छ।
हालसम्म निर्विवाद अध्यक्षका रूपमा उभिँदै आएका केपी शर्मा ओलीले यो पटक भण्डारीसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति बन्दै गएको छ । किनकि पूर्वराष्ट्रपति भण्डारीले एमालेको साधारण कार्यकर्ता बन्नलाई मात्र सदस्यता नवीकरण गरेकी होइन । अध्यक्ष बनेर एमाले पार्टी हाक्ने उनको चाहना ओलीका लागि खुला चुनौती नै मान्नुपर्छ।
यो टसल एमालेभित्र नेतृत्वको प्राकृतिक परिवर्तनतर्फको संकेत हो वा केवल व्यक्तिगत महत्वाकांक्षाको टकराव भन्न हतार हुनेछ। यथार्थ के हो भने, ओलीको लामो नेतृत्वपछि पहिलोपटक एकजना संस्थागत शक्ति र राष्ट्रिय परिचय बोकेको पात्र विद्या भण्डारीले प्रत्यक्ष र सजीव चुनौती दिएकी छन्। अब प्रश्न उठ्छ के एमाले नेतृत्व सन्तुलनको नयाँ चरणमा प्रवेश गर्दैछ? वा फेरि पुरानै वृत्तमा घुम्ने हो?
‘ओली विकल्पहीन होइनन्’
मंगलबारको पत्रकार सम्मेलनमा विद्या भण्डारीको बोलीमा स्पष्ट रुपमा ओलीविरुद्धको असन्तुष्टि झल्किएको थियो। ओलीले केही दिनअघि ‘ओलीबिनाको एमाले कल्पना नगर्नु’ भन्ने अभिव्यक्ति दिएका थिए। यसको जवाफमा भण्डारीले ‘पार्टी विचार, दर्शन र कार्यक्रमले चल्ने हो, व्यक्तिले होइन’ भन्दै ओली विकल्पहीन नभएको सन्देश दिइन्।
यो भनाइ केवल सामान्य प्रतिक्रिया मात्र होइन, नेतृत्वको लचकताको सन्देश हो। ओलीभित्रको आत्मकेन्द्रित प्रवृत्तिको प्रतिवाद र वैकल्पिक नेतृत्वको सम्भावनालाई भण्डारीले संकेत गरेकी छन्।
संगठनभित्रको असहजता : विधान महाधिवेशनको रणनीति
भण्डारीको आकांक्षा पार्टीको शीर्ष नेतृत्वमा पुग्ने देखिन्छ। उनले ५ साउनमा बस्ने केन्द्रीय कमिटीबाट जिम्मेवारीको अपेक्षा राखेकी छन्। तर भित्रभित्रै एमालेले विधान महाधिवेशनमार्फत पूर्वराष्ट्रपतिलाई जिम्मेवारी दिन नमिल्ने व्यवस्था गर्ने तयारी गरेको भनिएको छ। यदि यस्तो प्रस्ताव पास भयो भने, भण्डारीको प्रधानमन्त्री बन्ने सपना त कता हो कता, पार्टीमै औपचारिक रूपमा जिम्मेवारी पाउने ढोका बन्द हुनेछ।
यो सम्भावित व्यवस्थालाई भण्डारी पक्षले ‘व्यक्तिकेन्द्रित संरक्षणवाद’ को रुपमा लिने सम्भावना छ। उनी स्वयंले केही नेताहरूको व्यवहारप्रति आक्रोश व्यक्त गरिसकेकी छन्, जुनभित्र महासचिव शंकर पोखरेलको भूमिकाप्रति असन्तोष झल्किन्छ।
ओलीसँग जोरी खोज्नेको नियति ख्याल होस्
भण्डारीले उठाएको चुनौती एमालेभित्र यथार्थमै कति गहिरो असर पार्छ भन्ने विषय भने समयसापेक्ष हुनेछ। विगतमा ओलीसँग टकरावमा उत्रिएका नेताहरू—जस्तो कि भीम रावल—को नियति सबैले देखिसकेका छन्। सत्ता संरचना र सांगठनिक नियन्त्रण दुवै पक्षबाट ओली अझै बलिया छन्। त्यसैले भण्डारीको सक्रियता सैद्धान्तिक भए पनि त्यसले व्यवहारिक रूपमा कति लामो यात्रा तय गर्न सक्छ भन्ने प्रश्न खुलै छ।
यदि भण्डारीले ओलीको विकल्प निर्माणको अभियानलाई गम्भीर रूप दिइन् भने उनले एमालेभित्र गहिरो गुटबन्दी उत्पन्न गर्न सक्छिन्। तर उनी आफै पनि अघिल्ला असफल चुनौतीकर्ताहरूको सूचीमा सीमित हुन सक्ने जोखिम बराबरी रहन्छ।