काठमाडौं, असार ३२ :

नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८औं बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोड रुपैयाँको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (बुधबार) प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा. माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय-व्ययको बजेट पारित भएको हो ।

बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले गुरुकुल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्रस्रोत सुनिश्चित गराउन सातै प्रदेशमा ‘एक विद्यापीठ : एक नमुना गुरुकुल’ को अवधारणा अगाडि ल्याइएको बताए ।