काठमाडौं, साउन २ :

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी-नारायणगोपाल चोक-कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको संसद्‌को पूर्वाधार विकास समितिको बैठकमा उनले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने धारणा राखे । सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे ।

काम सुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे । सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए । उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला ? भन्दै प्रतिप्रश्न गरे ।

‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सधैं आइरहने तर ठोस रुपमा अगाडि नबढ्ने । यो समस्या हामीले पहिल्येदेखि भोग्दै आएको हो । खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, प्रक्रियागत ढिलाइ, यो असाध्यै झन्झटिलो देखिन्छ,’ उनले भने, ‘खासमा यसको डिटेल, प्रक्रिया त बताउनुभयो, तर मूल सरोकार भनेको त समिति वा पब्लिकको के हो भने यसको ढिलाई किन भयो छिटो काम सुरु हुनुपर्‍यो भन्ने हो । टेक्निकल कुरामा जानु पनि परेन । छिटो काम सुर हुनुपर्‍यो । अब नहुने हो भने विकल्प खोज्नुपर्‍यो । होल्डमा मात्रै राख्न भएन । हुने हो भने कहिलेदेखि सुरु हुने हो, कसरी सुरु हुने हो, कहाँ कहाँ त्यसको स्टेप पुग्ने हो ? अब नहुने हो भने विकल्प पनि खोज्नुपर्‍यो ।’

उनले चक्रपथ विस्तारको काम छिटो सुरु गर्न आग्रह गर्दै सरकारका तर्फबाट गर्नुपर्ने कामबारे स्पष्ट पार्न आग्रह गरे ।