
नेकपा एमालेले १५ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टीका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै १५ सदस्यीय पदाधिकारीको प्रस्ताव अघि सारेका हुन् ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय सचिवालय र केन्द्रीय पदाधिकारीको लेयर हटाउने र १५ सदस्य पदाधिकारी, २५१ सदस्यीय केन्द्रिय कमिटी र त्यसको एकतिहाइको पोलिटब्युरो रहने गरी तीन तह निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
उनका अनुसार पार्टी सदस्यतासम्बन्धी, पार्टीको संगठित सदस्यता सम्बन्धी जुन व्यवस्था थियो, दुई खालका पार्टी सदस्यहरु प्रस्ताव गरिएको छ । ‘एउटा पार्टीको संगठित सदस्यता, पार्टी सदस्यता रहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण र उहाँले पार्टीमा सक्रिय हुने विषयले पनि प्रवेश पाएको छ,’ उनले भने, ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवका रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर रहेको छ । यसमा पार्टीले उचित समयमा निर्णय गर्छ भन्ने कमिटीलाई अध्यक्षले जानकारी गराउनुभएको छ ।’
गौतमले शुक्रबारको बैठकमा सातजना पोलिटब्युरो सदस्यहरुले आफ्नो राय राखेको जानकारी पनि दिए ।