काठमाडाैं, साउन ३ :

 नेकपा एमालेको पोलिटब्युरो बैठक आजै सक्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन (रुलिङ) दिएका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक साँझ ६/७ बजेसम्म टुंग्याउने तयारी भइरहेको छ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा हालसम्म ३५ जना नेताले आ–आफ्नो धारणा राखिसकेका छन् भने करिब ३७ जना जति नेताले बोल्न बाँकी छ। गौतमका अनुसार, धारणा राख्ने क्रम जारी छ।

गौतमका अनुसार  बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ । सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिट ब्युरो बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए । आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ ।

हिजोदेखि सुरु भएको यो बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी, तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ।

आज बोल्ने  नेताहरूमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना, गोकुल घर्तीमगरलगायत छन्। बिनोद श्रेष्ठले भने लिखित रूपमा धारणा पेश गरेका छन्।

बैठकमा नेताहरूले पार्टी विधानमा रहेको ७० वर्ष उमेर हद हटाउने, दुई कार्यकालको सीमा खारेज गर्ने प्रस्ताव, पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुन: प्रवेश, सदस्यता नवीकरणलगायत विषयमा आ–आफ्नो धारणा राखेका छन्।

त्यस्तै, पार्टीका विभिन्न कमिटीहरूलाई अझ सक्रिय र कार्यकारी ढंगले अघि बढाउनुपर्ने, समन्वयमा सुधार गर्नुपर्ने लगायतका विषयमा पनि नेताहरूले सुझाव दिएका छन्।