
हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख विश्वराज खड्काविरुद्ध आन्दोलन सुरु गरेका छन्।
उपमहानगरका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको एक महिना बितिसक्दा पनि आक्रमणकारी पक्राउ नपरेपछि उनीहरू आन्दोलित भएका हुन्। वडाध्यक्ष न्यौपानेमाथि असार ४ गते दिउँसो आक्रमण भएको थियो।
प्रहरी प्रशासनको निष्क्रियताप्रति असन्तुष्टि जनाउँदै जनप्रतिनिधिहरूले आइतबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमै टेबल राखेर सेवा दिन थालेका छन्। उनीहरूले प्रारम्भमा दुई दिन त्यहीँबाट सेवा प्रवाह गर्ने र त्यसपछि थप आन्दोलनको घोषणा गर्ने जनाएका छन्।
‘जनप्रतिनिधि नै सुरक्षित छैनन् भने सर्वसाधारणको सुरक्षा कसरी सुनिश्चित हुन्छ?’ हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले भने।
उक्त घटनाबारे कुनै ठोस कारबाही नभएको, आक्रमणकारीको खोजीसमेत रोकिएको आरोप जनप्रतिनिधिले लगाएका छन्। यसले अन्य जनप्रतिनिधिमा पनि असुरक्षा बढाएको उनीहरूको भनाइ छ। यसअघि सोही घटनाको सन्दर्भमा व्यापारीहरूले समेत प्रशासनविरुद्ध प्रदर्शन गरेका थिए।