काठमाण्डौँ , भदौ २८ :

नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ ।

चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरी प्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो ।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत दक्षिणकालीमा तरकारी खेती गरिएको थियो ।

यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ । 

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्री समेत उपलब्ध गराएको थियो । 

आज कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खोर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन्। 

यसैगरी २०२३ मा उक्त फाउन्डेसनले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकासलाई प्रवर्द्धन गर्न सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो ।