काठमाडौं, साउन ५ :

नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएको छ । केन्द्रीय कमिटीको बैठकको रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई कार्यालय परिसरमा प्रवेश गर्न नदिएपछि सडकबाटै रिपोर्टिङ गर्न बस्न बाध्य भएका छन् ।

पार्टीले पत्रकारलाई कार्यालय परिसर प्रवेशमा रोक लगाउँदै सुरक्षाकर्मीसमेत परिचालन गरेको छ । सडकमै रिपोर्टिङ गर्नुपर्ने अवस्था बनेपछि पत्रकारहरूले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा समेत एमाले नेतृत्वप्रति आलोचना भइरहेका छन् । पत्रकारहरुले मर्यादापूर्वक स्वतन्त्र रिपोर्टिङ गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीलाई पत्रकारहरुले प्रश्न सोधेर हैरान गराएको भन्दै त्यसबाट जोगिन पार्टीले यस्तो व्यवस्था गरेको स्रोतले जनाएको छ । 

पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको भेटवार्ता लागि पार्टी कार्यलय पुग्दा पनि प्रधानमन्त्री ओलीलाई ७० वर्षे उमेरहदबारे प्रश्न  सोधेर कनसिरी तताउने काम गरेको एमालेको बुझाइ छ । यसअघि रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई कार्यालयभित्रै बस्ने व्यवस्था मिलाइएको हुन्थ्यो ।