
बंगलादेशले साफ यू-२० महिला च्याम्पियनसिप २०२५ को उपाधि रक्षा गर्न सफल भएको छ । बंगलादेशको बसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाललाई ४-० ले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।
सागोरिकाको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेशले अपराजित रहँदै उपाधि उचालेको हो । उनले ह्याट्रिकसहित चारै गोल गर्दै नेपालविरुद्ध एकल प्रदर्शन गरिन् । बंगलादेशले ६ खेलबाट पूर्ण १८ अंक जोड्यो भने दोस्रो स्थानमा रहेको नेपालले १२ अंक मात्र हासिल गर्यो ।
प्रतियोगिताको सुरुआतमा नेपाललाई ३-२ ले हराएको बंगलादेशले अन्तिम खेलमा पुनः नेपाललाई हराउँदै दोस्रोपटक हराएको हो ।
बंगलादेशका लागि सागोरिकाले खेलको आठौं, ५२औं, ५८औं र ७८औं मिनेटमा गोल गरिन् । पहिलो गोलमा उनले सुजता तामाङलाई बिट गर्दै खाली पोस्टमा बल पठाइन् । दोस्रो गोलमा सिम्रन र सुजतालाई छक्याउँदै गोल गरिन् भने तेस्रो गोलमा डिफेन्डर अनिशा राई बलमा पुग्न नसक्दा फाइदा उठाइन् । चौथो गोल मुन्की अक्तरको पासमा सुजताको सामुन्नेबाट गरिन् ।
यस जितसँगै बंगलादेशले उमेर समूहको साफ फुटबलमा पाँचौं उपाधि जितेको हो । यसअघि उसले दुईपल्ट यू-१९, एकपल्ट यू-१८ र यू-२० उपाधि जितेको थियो ।
खेलमा पुनरागमन गरेकी सागोरिका तीन खेलको प्रतिबन्धपछि फर्केकी थिइन् । जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा उनी र नेपाली डिफेन्डर सिम्रन राईबीच हात हालाहाल र कपाल तानातान भएको थियो ।