बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

संसद्‍मा खतिवडाको कटाक्ष- मधेसमा खानेपानीको हाहाकार हुँदा खानेपानीमन्त्री कहाँ छन् ?

पूर्वराष्ट्रपति राजनीतिमा फर्कन हुँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
संसद्‍मा खतिवडाको कटाक्ष- मधेसमा खानेपानीको हाहाकार हुँदा खानेपानीमन्त्री कहाँ छन् ?
काठमाडौं, साउन ७ :

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले खानेपानी, सरसफाइ तथा जलस्रोत मन्त्री प्रदीप यादव एक महिनादेखि बेपत्ता रहेको भन्दै संसदमा कडा आलोचना गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद खतिवडाले मधेशमा खानेपानीको चरम अभाव भइरहेका बेला मन्त्रीले गम्भीरतापूर्वक जिम्मेवारी वहन गर्न असफल भएको आरोप लगाए।

‘मधेशमा खानेपानीको हाहाकार छ। गाग्री लिएर सडकमा उत्रिने अवस्था सिर्जना भइसकेको छ,’ सांसद खतिवडाले भने, ‘तर एक महिनादेखि खानेपानी मन्त्री हराएको सूचना प्राप्त भएको छ। देखा पर्न सक्नु भएको छैन।’

खतिवडाले मन्त्री यादवलाई संसदमा उपस्थित गराएर मधेशको वर्तमान खानेपानी संकटबारे जानकारी दिन सभामुखसँग रुलिङ माग गरे। उनले मन्त्रालय र मन्त्री दुवै मौन रहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए।

‘संघीय संसदमा खानेपानी मन्त्रालय छ भन्ने जानकारी त छ। तर मन्त्रीज्यू नै हराउनु भएको छ भने त्यसको जवाफ कसले दिने?’ खतिवडाको प्रश्न थियो।

सांसद खतिवडाले आफ्नो मन्तव्यमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे पनि टिप्पणी गरेका थिए। उनले सर्वोच्च पदमा पुगिसकेका व्यक्तिहरूले त्यस पदको गरिमा कायम राख्नुपर्ने भन्दै सक्रिय राजनीतिमा फर्कन नहुने धारणा राखे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार