शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति

दाहालको आह्वान- दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट होऔं

‘पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ । उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिस्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो ।’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
दाहालको आह्वान- दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट होऔं
काठमाडौं, साउन ७ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बुधबार आयोजित विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्दै भने, ‘पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ । उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिस्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो ।’

उनले पुष्पलाल स्वयंप्रति आफ्नो निष्ठा स्मरण पनि गरे । ‘मैले १ रुपैयाँ लेबी तिरेर पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको थिएँ । पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै मैले दस्ताबेज पनि लेखेको थिएँ,’ उनले भने, ‘त्यसैगरी झापा विद्रोहको सम्मान र पुष्पलालमाथि लगाइएको आरोपको खण्डन गर्दै दस्ताबेज लेख्ने अवसर पनि मलाई प्राप्त भएको थियो ।’

संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धमार्फत जनतालाई गोलबद्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए । ‘संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई मार्क्सले जनताको साथ र विद्रोहविना कागजका खोस्टा मात्र हुन् भनेका थिए । नेपालमा पनि संविधान सभाको बहस पहिलेदेखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन,’ उनले भने, ‘माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबद्ध गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो ।’

अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिस्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे । ‘कहिले विद्रोह, कहिले शान्तिप्रक्रिया, कहिले पार्टी एकता- यी सबैमा मैले नेतृत्व गरेको हुँ । अहिले पनि म कम्युनिस्टहरूको एकताको झन्डा बोकेको छु,’ अध्यक्ष दाहालले दाबी गरे ।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा उनले जोड दिए । ‘सर्वत्र मिडियाबाट भ्रम र निराशा फैलाउने काम भइरहेको छ । तर, हामीले जनतामा वर्गीय आशा जगाउनै पर्छ,’ उनले भने ।

अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्न पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे । ‘हामीले गरेका माओवादी आन्दोलनका सम्पूर्ण गतिविधि पुष्पलालकै विचारको आधारमा थिए,’ उनले भने ।

उनले सबै कम्युनिस्ट शक्तिलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वानसमेत गरे । ‘कमरेड पुष्पलाललाई सच्चा सम्मान गर्ने हो भने कम्युनिस्ट क्रान्तिकारीहरूबीच एकता हुनुपर्छ,’ उनको स्पष्टोक्ति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार