
नेपाल पर्वतारोहण संघ २०२५ को नेतृत्वका लागि कुल गुरुङले उम्मेद्वारी घोषणा गरेका छन् ।
राजधानीमा शुक्रबार एक भेलामार्फत नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । पर्वतारोहण संघको निर्वाचन आगामी भदौ ७ गते नयाँ नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुँदै छ ।
उम्मेद्वारी घोषणा गर्दै गुरुङ आफूले पूर्वाग्राही नराखी नेतृत्व गर्ने संकल्प गरे । अहिले राजनीतिले आफूलाई पनि दिक्क पारेको र संस्थाको नेतृत्वमा गइसकेपछि निष्पक्ष रुपमा काम गर्ने उनले प्रतिबद्धता जनाए ।
‘चुनाव एउटा प्रक्रिया हो । नेतृत्वमा पुगेपछि म धेरै बोल्ने छैन । एक्सनमा जानेछु । यो कुरालाई म विशेष ध्यान पुर्याउनेछु,’ अध्यक्षका प्रत्यासी गुरुङले भने, ‘आगामी तीन वर्ष सबैलाई उत्साहित पार्ने गरी काम गर्नेछु । पूर्वाग्राही राख्दिनँ । राजनीतिले हामीलाई पनि इरिटेड पारेको छ । निष्पक्ष भएर काम गर्नेछु ।’
संघले गुरुङलाई निर्विरोध बनाउन अन्य संघ-संस्थाहरुसँग छलफल गर्न पाँच सदस्यीय वार्ता समिति पनि बनाएको छ । रमेश धमालाको संयोजकत्वमा डा. रामशरण थपलिया, कर्म शेर्पा, खुम सुवेदी, नीलहरि बास्तोला सदस्य छन् । उनीहरुले गुरुङको नेतृत्वलाई सर्वसम्मत बनाउन वार्ता गर्नेछन् ।