काठमाडौं, साउन ९ :

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउन सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।

एमालेमा निषेधपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।

पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध भन्दै उनले आवेग र उत्तेजनाको निर्णयले पार्टीको साख गिराउने बताइन् । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

उनले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रस्ट्याइन् । ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ,’ उनले भनिन् । आफू अझै पनि नेकपा एमालेको परिवारमा कायम रहेको उनको भनाइ छ ।