खोटाङ, भदौ २९ :

जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् ।

महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका रहेको जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

जेलर आचार्यका अनुसार जबर्जस्ती करणी मुद्दामा ५३ पुरुषले कैद भुक्तान गरिरहेका छन् ।

जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा सातजनाले कैद भुक्तान गरिरहेका छन् भने, हाडनाता करणी मुद्दामा १५ जनाले कैद भुक्तान गरिरहेको जनाइएको छ ।

यस्तै, कर्तव्य ज्यान मुद्दामा ३६ पुरुष, नागरिकता कीर्ते मुद्दामा आठ पुरुष, बैङ्किङ कसुरसम्बन्धी मुद्दामा एक महिला र तीन पुरुष तथा सवारी ज्यान मुद्दामा एक महिला र पाँच पुरुष छन् । 

लागूऔषध हिरोइन र गाँजा मुद्दामा तीन, खुनडाँका मुद्दामा तीन, सार्वजनिकस्थलमा अभद्र व्यवहार मुद्दामा पाँचजना पुरुषले कैद भुक्तान गरिरहेका छन् ।

कारागारमा मानव बेचबिखन, ठगी, हातहतियार तथा खरखजना, आगजनी, चोरीलगायत मुद्दामा २१ जना कैदीबन्दी रहेको जनाइएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खान, बस्न र सुत्नसमेत समस्या भएको कैदीबन्दीले बताएका छन् ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अहिले सञ्चालनमा रहेको तान ग्यारेज ( कैदी बन्दीले टोपीलगायत सामग्री बुन्ने ठाउँ) लाई अर्को ठाउँमा सारेर पुरुष कैदीबन्दी राख्ने तयारी गरिएको जेलर आचार्यले जानकारी दिनुभयो ।