
संवैधानिक परिषदको बैठक आज बस्दै छ ।
परिषदको अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेका लागि बैठक बोलाउनुभएको हो ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि दोस्रो पटक संवैधानिक परिषदको बैठक बोलाइएको हो ।
यसअघि बुधबार परिषदको बैठक बोलाएको भएपनि स्थगित भएको थियो ।
आज बस्ने परिषद् बैठकको तयारीका लागि बिहीबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्ष दलले नै संवैधानिक निकायमा चाँडो नियुक्ति गर्न माग गर्दै आएको छ ।
आजको बैठकमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा सिफारिस हुन सक्ने जनाइएको छ ।
सर्वोच्च बाहेक अन्य ६ संवैधानिक पद पनि रिक्त छ । उक्त पदमा राजनीतिक भागबन्डाको आधारमा नियुक्तिका लागि सिफारिस हुनेछ ।