काठमाडौं, साउन ११ :

पोखराको लिचीबारी जग्गा सम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई हस्तान्तरण गरेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक अडियोको आधारमा श्रेष्ठलाई अनुसन्धानको दायरामा ल्याएपछि उनले बास्तोलालाई कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । अध्यक्ष श्रेष्ठले  संगठनको निरन्तरता र कार्यसम्पादनमा असर नपरोस् भन्ने हेतुले कार्यवाहक जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी हुन् ।

अडियो प्रकरणमा उनलाई घुस माग्दै गरेको सुन्न सकिन्छ। उक्त प्रकरणमा उनी केही दिनअघि मात्रै स्वर परीक्षणका लागि अख्तियारको कार्यालयमा पुगेकी थिइन्। उक्त प्रकरण सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टी भित्र तथा बाहिर चर्को आलोचना हुँदै आएको थियो। 

प्रकरणबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ ।