
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । जिल्ला सरकार वकिल कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई सात वर्षदेखि दश वर्षसम्म कैद सजाय र पीडितलाई तीन लाख क्षतिपूर्तिको माग गरिएको छ ।
एक युवतीले आफूमाथि पटक-पटक करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी दिएपछि उनी फरार रहँदै आएका थिए ।
सरकारी वकिल कार्यालयले मंगलबार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ बमोजिमको कसुर गरेको भन्दै अहिराजविरुद्ध मुद्दा दायर गरेको हो । दफा ३ को (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
पीडित युवतीले आफूलाई कोठामै आएर अहिराजले मुख थुनेर जबरजस्ती करणी गरेको अनुसन्धान अधिकारीसमक्ष बताएकी छन् । तर, अहिराजले भने पीडितसँग पारिवारिक सम्बन्ध रहेको दाबी गर्दै विदेश पढ्न जान खोज्दा असफल भएपछि कुलतमा फसेको र आफूमाथि करणीको आरोप लगाएको दाबी गरेका छन् ।